मिति २०८१ मङ्सिर २८ देखि पुस २ गते सम्म सञ्चालित भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर महोत्सव अवलोकनका लागि राजर्षि गुरूकुलका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू गएका थिए । उक्त कक्षाको स्थानीय पाठ्यक्रम अन्तर्गतका विषयवस्तुलाई थप स्पष्ट पार्न सहयोग गर्ने भएकाले यस महोत्सवको अवलोकन गराइएको हो ।
महोत्सवमा ख्वप इन्जिनियरिङ कलेजका विज्ञान सङ्कायका विद्यार्थीहरूले प्राकृतिक प्रकोप न्यूनीकरणसँग सम्बन्धित मोडलहरूमार्फत जोखिम कम गर्ने उपायहरू बताएका थिए । यसैगरी विद्यार्थीहरूले च्यामासिङद्वारमा पुगी भक्तपुरका स्थानीय जातिहरूले माटाका भाँडा बनाउने कलाको प्रत्यक्ष अवलोकन गरेका थिए । यसका साथै उनीहरूले स्थानीय पोसाक, कृषि औजार, जडीबुटी, बिउबिजन स्थानीय स्तरका उत्पादित तरकारी, फलफूल तथा विभिन्न हस्तकलाका सामग्रीहरू चिन्ने मौका पाए ।
विशेषतः नेवारी संस्कृति, परम्परा संस्कार झल्कने पोसाक, खानपान, नृत्यसँग सम्बन्धित पाठ्यक्रममा राखिएको विषयवस्तुलाई नजिकबाट नियाल्न पाएकाले नेवारी समुदायभन्दा बाहेक अन्य समुदायबाट आएका विद्यार्थीलाई यस अवलोकनले भरपुर सहयोग पुगेको छ । अवलोकन गर्दै जानेक्रममा विद्यार्थीहरूले योमरी बनाएको, च्युरा कुटेको, पुराना खेलहरूहेर्ने मौका पाएका थिए । महोत्सवबाट सबैले आफ्नो स्थानीय भाषा, संस्कृति, परम्पराको संरक्षण र विकासमा एकजुट भएर लाग्नुपर्ने सन्देश उक्त महोत्सवबाट विद्यार्थीले प्राप्त गरे ।