मेरो त उमेर पुतलीसँग खेल्ने थियो
न त मान्छेको नजर नै चिन्न सक्थेँ
न त अभिप्राय पत्ता लगाउन सक्थेँ
म सात वर्षकी थिएँ
अबोध बालककै थिएँ
आमाले दिएको नयाँ जामा लगाएर एक कुनामा लुकेको थिएँ
अरू घरको ढोका खुल्दा हर्षले बुबालाई अँगाल्छन्
तर,
मैले एक दानव भित्रिएको देखेँ ।
एक हातमा रक्सीको सिसा
अर्को हातमा भाटा
म सात वर्षकी थिएँ
अबोध बालककै थिएँ ।
मेरो त्यो नयाँ जामामा घृणा र ईष्याको दाग बसेछ ।
आफ्नै भन्नेले मुटुमा चोट र शरीरमा खोट छोडेछ ।
आमाको तस्विरमा हार माला लगाइदिएको
त्यस दानवले मेरो शरीरलाई ताकिरहेको थियो ।
हरेक रात ती काला सम्झनाले बिउझाउन थाले
प्रत्येक ढोकाको घच्घचाहटले मेरो मुटु लुगलुग काम्न थाले
मेरो इच्छा आकांक्षा मेरी आमाको लाससँग जल्न थाले
मेरा ती हसिला मुहारमा काला बादलले ढाक्न थाले
हरेक रात आकाशतर्फ फर्की आमासँग गुनासो पोक्थेँ ।
पिजंडाको कैडी भएको सुगा झै म मेरो जीवनबाट बन्चित थिएँ
स्वतन्त्रताको आशामा बाचिरहेँ ।
म एक फुटेको ऐना झै थिएँ ।
मेरो न त अस्तित्व रह्यो
न त आत्मविश्वास
रह्यो त एक खोक्रो शरीर
मेरो आफ्नो भन्नलाई कोही रहेनन्
चार दिवारको कोठामा गुम्सिबसेँ
कति चिच्याएँ, कराएँ, तड्पिएँ
तर कसैले सुनेनन् ।
तर,
अब म ती बाँधिएको डोरीलाई फुकाउने छु,
म आवाज उठाउने छु,
म मेरो च्यातिएको जामा फेरी सिउने छु,
ती काला बादललाई सूर्यतर्फ मोड्ने छु ।
लागु औषध, घरेलु हिँसा विरुद्ध आवाज उठाउने छु ।
मिलिजुली हातेमालो गरौँ
आफ्नो लागि आफैँ उठौँ, भन्ने नारा जुलुस निकाल्ने छु
नारा जुलुस निमाल्ने छु ।
प्रनिशा खड्का कक्षाः १०
जिल्ला प्रशासन कार्यलय भक्तपुरबाट आयोजना भएको लागु औषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम २०८१ मा तृतीय स्थान हासिल गर्न सफल कविता
wow! just wow.